साथीलाई गोली प्रहार गरी फरार भएका युवक पक्राउ

जनकपुरधाम, २३ फागुन । धनुषामा साथीलाई गोली प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादव रहेका छन् ।
रुपेशले शनिबार धनुषाको कमला नगरपालिका वडा नम्बर–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियाको घाँटी भागमा गोली हानेर फरार भएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेकोमा मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आफ्नो साथमा बोकेर ल्याएको पेस्तोल निकाली मुकेशलाई गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाईते भएका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोज तलाश गर्ने क्रममा आइतबार बिहान घटनास्थल भन्दा ६०/७० मिटरको दुरीमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ स्थित जगदिश साहको खाली खेतमा सो वारदातमा प्रयोग भएको म्याग्जीन नभएको अटोमेटिक पेस्तोल फेला परेको थियो ।
घटनामा संलग्न रुपेशको खोज तलाश गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–४ स्थित नेपाल भारतको सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
रुपेशले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको उनले जानकारी दिए ।
पक्राउ परेको उनीमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान भईरहेको र गोली लागि गम्भिर घाईते भएका मुकेश मुखियाको हाल काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


