जनकपुरधाम, २३ फागुन । नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनअन्तर्गत सिरहाको गोलबजारमा जारी मतदानको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई समाचार संकलनमा रोक लगाउँदा उनीहरू धर्नामा बसेका छन् ।

गोलबजारस्थित जनता माध्यमिक विद्यालयमा जारी नेपाली कांग्रेसको मतदानको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई अवरोध गरेपछि उनीहरू धर्नामा बसेका हुन् ।

प्रहरीले समाचार संकलन गर्न पुगेका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारलाई मतदानको रिपोर्टिङमा अवरोध गरेपछि क्यामेरालगायतका सञ्चार सामग्री राखेर उनीहरू धर्नामा बसेका छन् ।

अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकाले पत्रकारलाई विद्यालयको परिसरबाहिरबाटै समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेको बताए । निर्वाचन अधिकृत सञ्जीवकुमार लामाले मतदानमा बाधा पुग्न सक्ने भन्दै उनीहरूलाई रोक लगाइएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्र कुमार कामतिको नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू धर्नामा बसेका छन् ।

उनले भने,‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । त्यस पार्टीको सिरहा अधिवेशन आज हुँदैछ । तर, मतदान स्थलभित्र हामी सञ्चारकर्मीलाई छिर्न दिइएको छैन । सीडीओ, एसपी र निर्वाचन अधिकृत भन्छन्–आदेश छैन । यो कस्तो लोकतान्त्रिक पार्टी र अभ्यास हो ? सरोकारवालालाई पटकपटक आग्रह गर्दा सुनुवाइ नभएपछि अन्ततः हामी धर्ना बसेको छौं ।’

यसैबिच, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले नेपाली काँग्रेस सिरहा जिल्लामा जारी निर्वाचनको क्रममा पत्रकारहरुलाई फोटो खिच्न, भिडियोग्राफी गर्न र समाचार संकलन गर्ने कार्यमाथि रोक लगाइनु गैरलोकतान्त्रिक कदम रहेको भन्दै यस कार्यको भर्त्सना गरेको छ ।

महासंघका अध्यक्ष राजेशकुमार कर्णले एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षाको बहाना देखाई पत्रकारहरुलाई समाचार संकलन र सम्प्रेषण कार्यमा लगाएको प्रतिबन्धको भर्त्सना गरेका छन् ।


कर्णले जारी गरेको विज्ञप्तीमा सिरहा जिल्लाका पत्रकारहरुको यस संघर्षमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले एक्येवद्धता जनाउँदै तत्काल समाचार संकलन र सम्प्रेषणको वातावरण बनाई दिन स्थानीय प्रशासन र नेपाली काँग्रेस सिरहासँग अपील गरिएको छ ।