जनकपुरधाम, २३ फागुन । धनुषामा नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन गरिरहेका तीनजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागरिकताविहिन संघर्ष समितिका केन्द्रीय संयोजक जित साफी, रविन्द्र कुशवाहा र अशोक साह रहेका छन् ।

प्रहरीले उनीहरुलाई धनुषाको ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा नागरिकता विधेयक छिटो पारित गर्न माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछि पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले विरोध प्रदर्शनको नाममा चक्काजाम गर्ने प्रयास गरेपछि तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।

‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दे’ लगायतका नारा उल्लेखित ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए ।

संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनुपर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दवावमूलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

नागरिकताको माग गर्दै पटक–पटक तीनै तहको सरकारलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएपछि बाध्य भएर सडकमा उत्रिनु परेको नागरिकताविहिन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीरले बताए ।

नागरिकता प्राप्तिका लागि सुरु भएको राजमार्ग केन्द्रित आन्दोलन फागुन २७ गतेसम्म निरन्तर चल्ने उनले जानकारी दिए ।

पूर्वनिर्धारित प्रदर्शनका कार्यक्रमअनुसार मिथिला नगरपालिका संघर्ष समितिले लोकमार्गमा प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनकारीले ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग सडक अवरुद्ध समेत गरेका थिए ।