महोत्तरी, २३ फागुन । १५ दिने मिथिला माध्यमिकि परिक्रमामा सहभागी एक यात्रीको मृत्यु भएको छ ।

परिक्रमाको पाँचौ दिन सोमबार जलेश्वरमा बेहोस भएर एक महिलाको मृत्यु भएको हो ।

सोमबार बिहान करिव साढे ९ बजे माध्यमिकि परिक्रमामा सहभागी भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाको भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी ५० वर्षीया पत्नी प्रमीला देबी साहको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर–२ साउजीपट्टी परिक्रमा स्थल नजिक नुहाउने क्रममा रिंगटा लागि बेहोस हुँदा उनलाई उपचारका लागि शान्ति कमिटी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मृतक साहको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।