पहिलो विवाह गरेको १८ दिन नबित्दै दोस्रो विवाह गर्नका लागि पहिलो पत्नीको हत्या

जनकपुरधाम, २२ फागुन । सिरहा प्रहरीले अर्को विवाह गर्नका लागि पहिलो श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–७ बस्ने २३ वर्षीय अमर राउत रहेका छन् ।
राउतले परिवारजनलाई जानकारी नदिई अर्को विवाह गर्नका लागि आफ्नो पहिलो श्रीमती २२ वर्षीया पुजा सिंह भन्ने पुजा कुमारी पोदारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
गत मंगलवार जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–७ स्थित कमला नदी किनारको काँसघारीमा पुजाको शव फेला परेको प्रहरीले जनाएको छ । अमरलाई घटनाको अनुसन्धानको क्रममा शुक्रबार पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए ।
अमर बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका बेला पुजासँग प्रेममा परेका थिए । फेसबुकमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका अमर माघ १३ गते नेपाल फर्केपछि माघ २७ गते काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए । विवाह गरेर दुबैजना काठमाडौं बाफलमा छुट्टै कोठा भाडामा लिई बस्दै आएका थिए ।
विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले स्विकार नगरेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर घर आएपछि पूनः नफर्केपछि पुजा फागुन १६ गते अमरलाई खोज्दा खोज्दै सिरहाको बस्तिपुर चोकमा पुगेका थिए ।
सिरहा पुगेकी पुजा श्रीमानलाई आफु आएको जानकारी गराएपछि अमरले आफु बाहिर रहेकोले साँझमा लिन आउने जानकारी गराए ।अमरले पुजाले आफूलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीहरुसँग सल्लाह गरेर हत्याको योजना बनाई बस्तिपुर चोकमा पुगेर उनलाई घर लैजाने बहानामा कमला नदीको किनारमा लगेर साथीहरुसँग मिलेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी बुढाथोकीले बताए ।
फेसबुकमा प्रेममा परेर विवाह गरेका युवकले घर परिवारलाई मनाउन आएकोमा अमरकै सहमतीमा असन्तुष्ट परिवारले धनुषाकी युवतीसँग अर्को विवाह तय गरेका थिए । तर पुजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले आफ्नो साथीहरुसँग मिलेर पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस घटनामा अमर पक्राउ परेपनि अन्य संलग्न व्यक्तिहरु फरार रहेका छन् । फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


