जनकपुरधाम, २२ फागुन । जनकपुरधाममा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ ।

धनुषाको कमला नगरपालिका–८ बस्ने १८ वर्षीय मुकेश मुखियामाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेंगाशिबपुरस्थित मामा भोगी मुखियाले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहेको बेला एक्कासी एकजनाले उनीमाथि गोली प्रहार गरेर भागेको धनुषा प्रहरीले जनाएको छ ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।