जनकपुरधाम, २२ फागुन । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतबार चौथो दिन महोत्तरीको मटिहानी पुगेको छ ।

फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरीस्थित मिथिला बिहारी मठबाट सुरु हुने गर्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरधामका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ ।

डोलामा पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा हजारौं नरनारीहरूको सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ ।

सोही क्रममा आज अत्यन्त तामझामका साथ तिर्थालुहरूको समूह मटिहानी आइपुगेको हो । मटिहानीमा भब्य पुजाआजाका साथ आज दिनभरी र रातभरि विश्राम गरी भोलि पुनः परिक्रमको यात्रामा उनीहरू निस्कने छन् । मटिहानीमा आज नगरभरी सार्वजनिक बिदासमेत दिइएको नगरप्रमुख हरि मण्डलले जानकारी दिए ।

परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्याणेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न गरिने चलन छ ।

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधामसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको छ । परिक्रम नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको पनि विश्वास रहेको छ ।