१६ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं, २० फागुन । अभिनेता र गायिकाका विषयमा सञ्चार माध्यम एवं सामाजिक सञ्जाल युट्युबबाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ भने दर्ता र सूचीकरण नभएका १० वटा वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्तै काउन्सिलले कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको छ ।
अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल खासगरी युट्युबसमेतबाट व्यक्तिगत गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष÷विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लंघन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कारबाहीका लागि सिफारिसमा परेका युट्युब च्यानलहरु :
१. टिसिने नेपाल
२. सुपर अनलाइन
३. ए वान समाचार
४. मिडिया ताजा खबर
५. नेपाली मन मिडिया
६. पुमा गौरव राई
७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल
९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया
११. विशाल नेपाल
१२. मुन अफ नेपाल
१३. डिएमजी नेपाल
१४. नेपाली माटो
१५. समर्पित प्रकाश
१६. रातोपाटी मिडिया


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


