जनकपुरधाम, १९ फागुन । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि बिधिवत रुपमा सुरु भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी भएका जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिए । उनीहरु शुक्रबार बिहान भारतको कल्याणेश्वर पुग्नेछन् । त्यहाँ विश्रामपछि सहभागीहरु भारतकै गिरिजास्थान, मटिहानी, नेपालको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वर, पर्वता, धनुषाधाम, औरही, करुणा, विशौल हँुदै फेरि कल्याणेश्वर र फागु पुर्णिमाको दिन जनकपुरधाम फर्किने छन् ।

कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शुरुवात भएको मानिन्छ ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ५ र भारतको २८ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरुको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पूण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् ।

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण पनि वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौं नरनारीहरु सहभागिता हुने गर्छन । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछन् ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।