बारा, १८ फागुन । बाराको कोल्हवी नगरपालिकाका एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ ।

कोल्हवी नगरपालिका वडा नम्बर–११ को वडा कार्यालयमा कार्यरत वडासचिव (ना.सु.) विनोद प्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले साह उपर घुस लिई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अनुसन्धानको क्रममा नासु साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले बुधबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

नासु साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटेको टोलीले उनलाई सेवाग्राहीबाट ३ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा गत माघ २० गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा साहले जग्गा नामसारी सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएको अनुसन्धानबाट खुल्न आएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले साहलाई बिगो ३ हजार ५ सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको उनले बताए ।