जनकपुरधाम, १८ फागुन । जनकपुरधाममा भोलीदेखि तिन दिवसिय जनकपुर साहित्य महोत्सव २०२२ सुरु हुन लागेको छ ।

नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा हुन लागेको महोत्सवको तेस्रो संस्करण २१ गतेसम्म चल्ने भएको हो ।

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसवर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी १२ वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक समितिका संयोजक राकेशविक्रम साहले जानकारी दिए ।

जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उनले बताए । महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरुको सहभागिता रहनेसमेत उनले जानकारी दिए ।

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन १९ गते दिउँसो २ बजेदेखि जानकीमन्दिर परिसरमा हुनेछ । अथितिको रुपमा सो कार्यक्रममा मधेस प्रेदशका मुख्यमन्त्री लालबाबु राउत, नेपाल पर्यटन बोर्डका सीईओ, उद्योगपति बिनोद चौधरी, मधेस प्रदेसका मन्त्रीहरु, नबिल बैंकका कार्यकारी प्रमुख अनिल साह लगायत अन्य स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका व्यक्तित्वहरुको सहभागिता रहने साहले जानकारी दिए ।

उनले साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।

महोत्सवको पहिलो दिन भोली चर्चित लेखल खगेन्द्र संग्रौलाको मधेश साहित्य र म भन्ने विषयमा एउटा सत्र पनि रहेको छ । त्यस्तै, फागुन २० र २१ गते पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ ।

महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेसमा उद्यमी र मधेसको उद्योग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीयविकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेस एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधेसमा साहित्य लेखन’ जस्ता अन्य विषयमा सत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्वको विभिन्न प्यानलमा सरिता गिरी, गगन थापा, सि.के लाल, हरि शर्मा, बिनोद चौधरी जस्ता वक्ताहरुको सहभागिता रहने बताइएको छ ।