जनकपुरधाम, २७ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राज्यले नियतवश फसाउन खोजेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आयोजित ‘९ दलीय अग्रगामी मोर्चा’को मधेश प्रदेश समन्वय समितिको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै राउतले यादवमाथि मात्र नभई आफूहरूमाथि पनि विगतमा राज्यबाट यस्तै किसिमको व्यवहार भएको दाबी गरे ।

उनले विगतमा आफूहरूबाट समेत केही कमजोरी भएको स्वीकार गर्दै अब घरभित्रका समस्या आपसी छलफल र सहमतिबाट समाधान गर्नुपर्ने बताए ।

अधिकारको संघर्षमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै राउतले नेता तथा कार्यकर्ताले गाउँगाउँ पुगेर नेतृत्वको मनोबल बढाउनुपर्ने धारणा राखे ।

राउतले राज्यको व्यवहारमा दोहोरो मापदण्ड रहेको आरोपसमेत लगाए । हत्या तथा हिंसामा संलग्न व्यक्तिमाथि कारबाही नहुने तर सामान्य नागरिकलाई समेत सामान्य अपराधमा ठूला मुद्दा लगाएर फसाउने गरिएको उनको भनाइ थियो ।

उनले वर्तमान सरकार जनआन्दोलन र लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि बढेको आरोप लगाउँदै अधिकारको संरक्षणका लागि परिवर्तनकारी शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।