जनकपुरधाम, २७ भदौ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधिसँगै एसिया कपमा स्थान पक्का गरेको हो ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका राहुल चोपडाले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार गरेको थियो ।

नेपालको इनिङ्समा आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए । यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक हो ।

त्यस्तै गुल्शन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए ।

आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।

यूएईका लागि इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले समान १ विकेट लिए ।

यससँगै नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको इतिहास दोहो¥याएको छ । पछिल्लो जितसँगै नेपालले प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा समेत आफ्नो स्थान सुरक्षित गरेको हो ।