जनकपुरधाम, २७ भदौ । धनुषामा लामो समयदेखि जग्गाधनी पुर्जाविहीन अवस्थामा रहेका परिवारलाई पुर्जा वितरण गर्ने अभियानलाई तीव्रता दिइएको छ ।

नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले पुर्जा वितरण अभियानलाई अघि बढाएको हो ।

यसैक्रममा शनिबार सबैला नगरपालिका–८, साविक ठिला यदुवा गाविसका ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । ती जग्गाको नाप नक्सा भने २०७८ सालमै सम्पन्न भएको नापी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि तयार गरिएको विवरणअनुसार भदौ महिनामै धनुषाका थप तीन स्थानीय तहका गरी १ हजार ८५ परिवारलाई पुर्जा वितरण गर्ने तयारी गरिएको थियो । सोही योजनाअनुसार आज सबैलामा ३८५ परिवारलाई पुर्जा वितरण गरिएको हो ।

अब भदौ २९ गते हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविसका ३५० परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी छ ।

त्यसैगरी भदौ ३१ गते क्षिरेश्वरनाथ नगरपालिका–१ र २, साविक रमदैया भवाडी गाविसका ३७५ परिवारलाई पुर्जा वितरण गर्ने कार्यक्रम रहेको नापी कार्यालय धनुषाले जनाएको छ ।

यसरी भदौ महिनामा मात्रै सबैला, हंसपुर र क्षिरेश्वरनाथ नगरपालिकाका गरी १ हजार ११० परिवारलाई पुर्जा वितरण हुने देखिएको छ ।

यसअघि तयार गरिएको योजनामा संख्या १ हजार ८५ उल्लेख भए पनि आजको सबैला वितरणको अद्यावधिक तथ्यांक ३८५ भएकाले आगामी दुई कार्यक्रमसहित कुल संख्या १ हजार ११० पुग्ने भएको हो ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारका अनुसार नाप नक्सा सम्पन्न भएका तर दर्ता प्रक्रिया बाँकी रहेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको छ ।

उनले भने,’नाप नक्सा सम्पन्न हुँदैमा मात्र जग्गाको स्वामित्व पूर्णरूपमा स्थापित हुँदैन । त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । लामो समयदेखि पुर्जाविहीन रहेका परिवारको समस्या समाधान गर्न स्थानीयको सहभागिता, आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा गराउँदै दर्ता तथा पुर्जा वितरणको कामलाई क्रमशः अघि बढाइरहेका छौँ ।’

उनका अनुसार पुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोग्दै आएका परिवारलाई आफ्नो सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्न सहज हुनेछ ।

पुर्जा भएपछि जग्गा बिक्री वितरण, धितो राखेर कारोबार गर्न तथा अन्य प्रशासनिक काम गर्नसमेत स्थानीयलाई सहज हुने उनको भनाइ छ ।

नापी कार्यालयले धनुषाका अन्य क्षेत्रमा पनि नाप नक्सा सम्पन्न भइसकेका तर विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन बाँकी रहेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।