जनकपुरधाम, ०७ असार । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ को आयोजनामा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

वडा नं. ५ का अध्यक्ष बेचन साहु हलुवाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल आभूषण महासंघ मधेश प्रदेशका अध्यक्ष पवन ठाकुर, विशिष्ट अतिथि कार्यपालिका सदस्य राकेश विक्रम साह, सञ्चारकर्मी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ठाकुरले खेलकुदलाई युवाको क्षमता विकास, अनुशासन र सामाजिक एकताको माध्यमका रूपमा लिनुपर्ने बताए ।

उनले स्थानीय तहमा यस्ता प्रतियोगिताले खेलाडी उत्पादन र प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

विशिष्ट अतिथि कार्यपालिका सदस्य राकेश विक्रम साहले वडा स्तरमै क्रिकेट प्रतियोगिता आयोजना हुनु सकारात्मक कदम भएको भन्दै यसले युवालाई सकारात्मक दिशामा उन्मुख गराउने विश्वास व्यक्त गरे ।

उनले स्थानीय सरकार खेलकुद पूर्वाधार विकासमा अझ सक्रिय हुनुपर्ने आवश्यकता समेत औंल्याए ।

कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष बेचन साहु हलुवाईले वडा नं. ५ लाई खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै प्रतियोगिताले स्थानीय युवामा प्रतिस्पर्धात्मक भावना र अनुशासन बढाउने विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र विस्तारित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।

उद्घाटन समारोहपछि प्रतियोगिताका प्रारम्भिक खेलहरू सुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहेको छ ।