जनकपुरधाम, १० बैशाख । यही बैशाख १२ गते हुने जानकी नवमी पर्वलाई भव्य रूपमा मनाउन जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिने भएको छ ।

जानकी सेनाको आयोजनामा हुने उक्त कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनसँगै जनकपुरधामको सांस्कृतिक पहिचानलाई अझ उजागर गर्ने विश्वास गरिएको छ ।

आयोजकका अनुसार वैशाख १२ गते पर्ने जानकी नवमीको अवसर पारेर साँझ जानकी मन्दिर परिसरमा सवा लाख दीप बालिनेछ ।

जानकी सेना जनकपुरधामका अभियन्ताहरूले यस वर्षको कार्यक्रमलाई विगतभन्दा अझ भव्य बनाउन तयारी तीव्र पारेका छन् ।

मन्दिर परिसरको सरसफाइ, सुरक्षा व्यवस्था र श्रद्धालु व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिइएको छ ।

जानकी नवमी हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको पर्व हो । धार्मिक मान्यताअनुसार यस दिन माता सीताको जन्म भएको मानिन्छ ।