जनकपुरधाम, २९ चैत । नेपाल सरकारले जनकपुरधामको समग्र विकास संरचनामा परिवर्तन गर्ने तयारी थालेको छ ।

हाल सञ्चालनमा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् खारेज गरी नयाँ निकाय ‘जनकपुरधाम विकास प्राधिकरण’ गठन गर्ने योजना अघि बढाइएको स्रोतले जनाएको छ ।

सरकारले प्रस्तावित प्राधिकरणलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य राखेको छ ।

नयाँ संरचनामा पदाधिकारीहरूको नियुक्ति खुला प्रतिस्पर्धामार्फत गर्ने तयारी गरिएको बताइएको छ । यसले पारदर्शिता कायम गर्दै दक्ष र योग्य जनशक्ति ल्याउने विश्वास गरिएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय जनकपुरधाममै रहने प्रस्ताव गरिएको छ । यसले स्थानीय स्तरमै निर्णय प्रक्रिया सशक्त बनाउने र विकास आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने विश्वास गरिएको छ ।

सरकारको यो पहललाई जनकपुरधामको दीर्घकालीन शहरी विकास, धार्मिक पर्यटन प्रवर्द्धन र पूर्वाधार विस्तारसँग जोडेर हेरिएको छ ।

यद्यपि, प्रस्ताव कार्यान्वयनको चरणमा पुग्न भने थप नीतिगत तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ ।