प्रधानमन्त्रीमाथि अपशब्द प्रयोग गर्ने युवक पक्राउ, अनुसन्धानपछि परिवारको जिम्मा

काठमाडौं, २९ चैत । सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवक पक्राउ परेको विषयमा गृह मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयका अनुसार साइबर अपराध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट आवश्यक अनुमति लिएर कानूनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइएको थियो ।
सोही क्रममा पक्राउ परेका ती युवालाई आइतबार परिवारको जिम्मा लगाइएको बताइएको छ ।
प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सरकारले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख गरिएको छ ।
साथै, आफ्ना विचार अभिव्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्ने प्रत्येक नागरिकको नैतिक दायित्व रहेको पनि स्मरण गराइएको छ ।
मन्त्रालयले समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गर्ने जस्ता गतिविधि प्रचलित कानून विपरीत हुने स्पष्ट पारेको छ ।
यस्ता क्रियाकलापमाथि सम्बन्धित निकायले नियमित निगरानी गरिरहेको जनाउँदै नागरिकका मौलिक हक तथा अधिकारको संरक्षणमा सरकार सधैं प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


