जनकपुरधाममा उद्यमशीलता सीप विकास कार्यक्रम सम्पन्न, युवालाई आत्मनिर्भर बन्न आह्वान

जनकपुरधाम, २८ चैत । अमेरिकी दूतावास नेपालद्वारा जनकपुरधाममा आयोजना गरिएको उद्यमशीलता सीप विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना उद्यमशीलताप्रति उत्साही युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य नवउद्यमीहरूलाई व्यवसाय सुरु गर्न, विस्तार गर्न तथा प्रतिस्पर्धी बन्न आवश्यक सीप र ज्ञान प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।
सहभागीहरूले उद्यम सञ्चालन, नेतृत्व विकास, बजार प्रतिस्पर्धा तथा नवीन सोच सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण लिएका थिए ।
कार्यक्रममा एनवाईईएफ जनकपुर च्याप्टरको तर्फबाट प्रतिनिधित्व गर्दै वक्ताहरूले नयाँ पुस्ताका आत्मनिर्भर उद्यमी उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनीहरूले स्थानीय स्तरमै प्रभाव पार्ने र विश्वव्यापी सोच राख्ने उद्यमी तयार गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए ।
कार्यक्रम सफल बनाउन इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट, आद्यन्त एडभाइजरी, एमच्याम नेपाल तथा द ग्लोबल इम्प्याक्ट कलेक्टिभले सहकार्य गरेका थिए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले मधेश प्रदेशमा उद्यमशीलताको वातावरण सुदृढ बनाउँदै युवालाई रोजगारी सिर्जना तथा आत्मनिर्भरतातर्फ प्रेरित गर्ने विश्वास लिइएको छ ।









तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


