जनकपुरधाम, २७ चैत । जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी रूबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएपछि उनको गृह क्षेत्र जनकपुरधाममा उत्सवमय वातावरण बनेको छ ।

सामान्य परिवारबाट उठेर राष्ट्रिय राजनीतिको उच्च पदमा पुग्न सफल भएकी ठाकुरको सफलताले स्थानीय समुदायमा नयाँ आशा र प्रेरणा थपेको छ ।

श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी ठाकुरलाई उपसभामुखमा निर्वाचित गराउन राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन निर्णायक बनेको थियो ।

केही महिनाअघि मात्र सांसद बन्ने कल्पना नगरेकी उनी अहिले प्रतिनिधिसभाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने स्थानमा पुगेकी छन् ।

उनको सफलताले परिवारमा मात्र नभई सिंगो टोल छिमेकमा खुसी छाएको छ ।

आमा रेणुदेवी ठाकुरले छोरीको उपलब्धिलाई जीवनकै ठूलो खुसीको रूपमा लिँदै गर्व व्यक्त गरेकी छन् भने बुवा राम सोगारथ ठाकुरले विगतका संघर्षपूर्ण दिनहरू सम्झिँदै भावुक भएका छन् ।

परिवार पाल्न इँटा भट्टा, खेतबारी र साना व्यवसायसम्म गर्नुपरेको अनुभव सुनाउँदै उनले छोरीको सफलताले सबै दुःख बिर्सिएको बताएका छन् ।

रूबीकुमारीको बाल्यकाल सीमित स्रोत साधनबीच बितेको थियो ।वैदेशिक रोजगारीमा रहेका बुवाको आम्दानी र गृहिणी आमाको मिहिनेतमा हुर्किएकी उनी सानैदेखि जिम्मेवारी बोकेर अघि बढेकी थिइन् ।

घरमा तीन दिदीबहिनी र दुई भाइबीचको पारिवारिक परिवेशले उनलाई संघर्ष र आत्मनिर्भरता सिकाएको थियो ।

स्थानीय मुजेलियाका बासिन्दाहरूका लागि रूबीको सफलता ऐतिहासिक मानिएको छ । यहाँका बासिन्दाहरूले अब आफ्ना छोरीहरू पनि देशको नीति निर्माण तहसम्म पुग्न सक्छन् भन्ने आत्मविश्वास बढेको बताएका छन् ।

देशकै कान्छी सांसदमध्ये एकका रूपमा परिचित ठाकुर अब उपसभामुखको जिम्मेवारीमा रहेर संसदमा सामाजिक कुरीति, विभेद र अन्यायविरुद्ध प्रभावकारी आवाज उठाउने विश्वास गरिएको छ ।