जनकपुरधाम, २७ चैत । वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको पूर्वसंध्यामा धनुषाको धनुषाधामस्थित वनस्पति उद्यानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

‘समृद्धिको लागि वनस्पति’ भन्ने नारासहित आयोजित कार्यक्रममा उद्यानभित्र रहेका दुई भागलाई जोड्ने सडकको दुवैतर्फ गुलमोहरका बिरुवा रोपिएको हो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले वनस्पतिको संरक्षण र विस्तारले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

साथै, हरियाली प्रवर्द्धनमार्फत स्थानीय क्षेत्रको सौन्दर्य वृद्धि र पर्यावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उद्यान क्षेत्रमा गरिएको उक्त वृक्षारोपणले आगामी दिनमा आकर्षक हरित वातावरण निर्माण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाईसमेत आकर्षित गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।