जनकपुरधाम, २७ चैत । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा एक विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरिएको छ ।

रोटरी क्लब अफ जनकपुरधामको सहयोगमा जनकपुरधामस्थित लक्ष्मण अखाडामा रहेको श्री जनता आधारभूत विद्यालयलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरिएको हो ।

कार्यक्रम मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले शिक्षालाई समृद्धिको मूल आधारका रूपमा व्याख्या गर्दै शिक्षा क्षेत्रको सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

त्यसैगरी, रोटरी क्लब अफ जनकपुरधामका संस्थापक अध्यक्ष विजयकुमार झुनझुनवालाले विद्यालयमा बालबालिकाको सुविधाका लागि छिट्टै शौचालय निर्माण गरिने जानकारी दिए ।

क्लबका अध्यक्ष ललित बजाजको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अर्जुन चौधरी, विद्यालयका प्रधानाध्यापक कञ्चन झा, क्लबका पूर्वअध्यक्ष प्रमोद कुमार अग्रवाल, कार्यकारी निर्देशक प्रदीप दत्त, सदस्य रञ्जित अग्रवाल तथा समाजसेवी रेखा साहलगायतको उपस्थिति रहेको थियो ।

यसअघि पनि रोटरी क्लब अफ जनकपुरधामले जनकपुरधामकै सकल भवन कन्या माध्यमिक विद्यालयमा शौचालय निर्माण तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ ।