जनकपुरधाम, २७ चैत । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ का लागि संघ सरकारले निर्धारण गरेको सार्वजनिक बिदाका अतिरिक्त प्रदेशभर लागू हुने गरी थप ६ दिन बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सांस्कृतिक तथा धार्मिक महत्वका पर्वहरूलाई लक्षित गरी थप बिदा स्वीकृत गरिएको जनाएको हो ।

निर्णयअनुसार बैशाख २ गते सिरुवा पावनी, कार्तिक ३० गते छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन तथा मंसिर २८ गते विवाहपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिइनेछ ।

यसबाहेक प्रदेश सरकारले आवश्यकता अनुसार थप ३ दिन बिदा घोषणा गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव गणेश नायकका अनुसार फागुन १८ गते प्रकाशित प्रदेश राजपत्र (खण्ड ७५, संख्या ६७, भाग ५) मा उल्लेख भएअनुसार बैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने गरी एक वर्षको अवधिमा संघीय बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा स्वीकृत गरिएको हो ।

प्रदेश सरकारले स्थानीय संस्कार, परम्परा र जनभावनालाई सम्मान गर्दै यस्तो निर्णय गरेको बताइएको छ ।