मधेशमा ‘विचौलिया सफाइ अभियान’ तीव्र, ६ जिल्लाबाट ४२ जना पक्राउ

जनकपुरधाम, २५ चैत । नयाँ सरकार गठनसँगै मधेश प्रदेशमा सरकारी कार्यालयहरूमा सक्रिय विचौलियामाथि प्रहरीको कारबाही तीव्र बनेको छ ।
विभिन्न जिल्लाका सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई ठगी गर्ने र काममा ढिलाइ गराउने आरोपमा ४२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार अत्यधिक सेवाग्राहीको चाप हुने कार्यालयहरूमा पुगेर प्रभाव जमाउने, अनुचित लाभ लिने र सेवा प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।
कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलीयाका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्जस्थित यातायात र मालपोत कार्यालयबाट ८ जना, रौतहटबाट ७ जना, सर्लाहीको मलंगवाबाट ९ जना, धनुषाबाट ५ जना, सप्तरीबाट १० जना र सिरहाबाट ३ जना रहेका छन् ।
प्रहरीको निगरानी बढेसँगै सरकारी कार्यालयहरूमा विचौलियाको सक्रियता घट्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव सेवा प्रवाहमा देखिएको छ भने सेवाग्राहीप्रति कर्मचारीको व्यवहारमा पनि सुधार आएको छ ।
धनुषाको मालपोत कार्यालय पुगेका सेवाग्राही राकेश महतोका अनुसार पहिले जस्तो झ्यालमा भीडभाड नभई अहिले सेवा छिटो र व्यवस्थित रूपमा पाइने गरेको छ । ‘अहिले कर्मचारीहरूले पनि राम्रोसँग व्यवहार गर्न थालेका छन्,’ उनले भने ।
प्रहरीले आगामी दिनमा पनि यस्ता अवैध गतिविधिविरुद्ध निरन्तर कारबाही गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


