जनकपुरधाम, १६ चैत । मधेशको सामाजिक राजनीतिक परिवेशबाट उदाएकी निनुकुमारी कर्णको जीवनकथा उनको व्यक्तिगत सफलता मात्र नभई निरन्तर संघर्ष, सामाजिक अवरोध र राजनीतिक प्रतिबद्धताको सशक्त उदाहरण बनेको छ ।

शिक्षक पेशाबाट राजनीति हुँदै प्रतिनिधिसभा सदस्यसम्मको उनको यात्रा मधेशी महिलाको राजनीतिक सशक्तीकरणको रूपमा पनि हेरिएको छ ।

जनआन्दोलनदेखि राजनीतिक यात्राको शुरुवात
वि.सं. २०४६ ताका कक्षा १० मा अध्ययनरत निनुकुमारी जनकपुरमा चर्किएको आन्दोलनमा सक्रिय रूपमा सहभागी भइन् । प्रजातन्त्र स्थापनाको आन्दोलनले उनलाई राजनीतिक चेतनातर्फ डोर्यायो । त्यतिबेला उनले भूमिगत नेताहरूका लागि सूचना ओसारपसार गर्ने जोखिमपूर्ण जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक थियो । उनी प्रजातान्त्रिक आन्दोलनका प्रभावशाली नेता महेन्द्र नारायण निधिकी नातिनी र विमलेन्द्र निधिकी भान्जी हुन् ।

बाल्यकालमै जेलमा रहेका आफन्तलाई भेट्न जाँदा उनले राज्य र राजनीतिप्रति गहिरो जिज्ञासा विकास गरेकी थिइन् ।

सामाजिक अवरोधबीच अघि बढेको महिला
तराई–मधेशको सामाजिक संरचनामा महिलाको शिक्षा र राजनीतिक सहभागिता सहज थिएन ।

‘छोरीले राजनीति गर्नु हुँदैन’ भन्ने सोच व्यापक रहेको समयमा निनुकुमारीले सामाजिक आलोचना, पारिवारिक दबाब र लैंगिक विभेदको सामना गर्दै आफ्नो बाटो बनाइन् ।

उनले विद्यार्थी जीवनमै नेपाल विद्यार्थी संघमा आवद्ध भई सक्रिय राजनीति सुरु गरिन् । त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी संगठन, सम्पर्क समिति र विभिन्न विद्यार्थी मञ्चहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले संगठनात्मक अनुभव बटुलिन् ।

शिक्षण पेशाबाट पुनः राजनीतिमा फर्किने निर्णय
विवाहपछि केही समय उनी सक्रिय राजनीतिबाट टाढा रहिन् । परिवारको जिम्मेवारी र सामाजिक दबाबका कारण उनले एक दशकभन्दा बढी समय शिक्षण पेशामा बिताइन् ।

उनले बुढानिलकण्ठस्थित विद्यालयमा अध्यापन गर्दै आत्मनिर्भरता र सामाजिक योगदानलाई निरन्तरता दिइन् । तर, राजनीति उनको लागि पेशा नभई प्रतिबद्धता थियो ।

२०६२/६३ को जनआन्दोलनका क्रममा उनी पुनः सडक आन्दोलनमा फर्किइन् । घरपरिवारलाई थाहै नदिई आन्दोलनमा सहभागी हुनेदेखि पक्राउसम्मका अनुभवले उनको राजनीतिक दृढता झनै बलियो बनायो ।

संसदसम्मको यात्रा र आलोचनासँगको संघर्ष
दीर्घ राजनीतिक सक्रियता र संगठनात्मक योगदानपछि उनी नेपाली कांग्रेसको मधेश महिला क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् ।

तर, संसद प्रवेशसँगै आलोचनाहरू पनि आए। कतिपयले उनलाई पारिवारिक पहुँचका कारण अवसर प्राप्त भएको आरोप लगाए ।

यसप्रति प्रतिक्रिया दिँदै निनुकुमारी भन्छिन्, ‘आफ्नो संघर्षलाई नजरअन्दाज गरेर गरिएको टिप्पणीले दुख दिएको भए पनि आफूले पछि नहट्ने निर्णय लिएँ ।’

उनले भनिन्, ‘विद्यार्थी जीवनदेखि निरन्तर संघर्ष गर्दै आएको छु । राजनीति मेरो लागि वंशानुगत सुविधा नभई त्याग र मेहनतको परिणाम हो ।’

सामाजिक मुद्दामा मुखर आवाज
संसद पुगेपछि निनुकुमारीले विशेषगरी मधेशका ज्वलन्त सामाजिक समस्यामा ध्यान केन्द्रित गरेकी छन् ।

उनले युवामा बढ्दो लागुऔषध दुव्र्यसन, बालविवाह, महिला असमानता र सामाजिक सञ्जालको दुरुपयोगका विषयमा चिन्ता व्यक्त गर्दै नीति तथा जनचेतनाका माध्यमबाट समाधान खोज्नुपर्ने बताउँछिन् ।

मधेशमा विद्यालयस्तरमै लागुऔषध प्रयोग बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनी भन्छिन्, ‘भोलिको नेतृत्व गर्ने पुस्ता नै दुव्र्यसनमा फस्दै जानु गम्भीर विषय हो । यसलाई रोक्न राज्य र समाज दुवै सक्रिय हुनुपर्छ ।’

त्यस्तै, सामाजिक सञ्जालका कारण कम उमेरमै विवाह हुने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले यसविरुद्ध कडा अभियान आवश्यक रहेको बताएकी छन् ।

समावेशिता र सुशासनको एजेन्डा
निनुकुमारीको प्रमुख एजेन्डामध्ये एक हो— राज्यका हरेक निकायमा जनसंख्याका आधारमा समावेशी सहभागिता सुनिश्चित गर्नु ।

मधेशी, दलित, जनजाति र महिलाको प्रतिनिधित्व न्यून रहेको भन्दै उनले संसदमा यस विषयलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएकी छन् ।

उनले भनिन्, ‘समावेशी लोकतन्त्र बिना समृद्धि सम्भव छैन । महिलालाई अवसर मात्र नभई निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता आवश्यक छ ।’

साथै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र संघीयताको सुदृढीकरणलाई आफ्नो प्राथमिकता बनाएकी छन् । सरकारका सकारात्मक काममा समर्थन र कमजोरीमा खबरदारी गर्ने उनको स्पष्ट धारणा छ ।

संघर्षले निर्माण गरेको राजनीतिक पहिचान
निनुकुमारी कर्णको यात्रा मधेशी समाजमा महिलाको भूमिकाबारे स्थापित परम्परागत धारणा तोड्ने कथा पनि हो ।

विद्यार्थी आन्दोलनदेखि सडक संघर्ष, शिक्षण पेशादेखि संसदीय राजनीतिसम्मको उनको यात्रा नयाँ पुस्ताका महिलाका लागि प्रेरणाको स्रोत बनेको छ ।

आलोचना, अवरोध र चुनौतीका बीच उनले रोजेको बाटो अझै पनि संघर्षपूर्ण छ । तर, उनको भनाइ स्पष्ट छ, ‘सत्य र न्यायका लागि लडाइँ कहिल्यै रोकिन्न ।’