बारा, ६ चैत । प्रतिनिधि सभा सदस्य रहबर अंसारीले लोकतन्त्रको मूल मर्म गोप्य मतदानको सम्मानमा रहेको बताएका छन् ।

उनले भोट कसले कसलाई दियो भन्ने खोजी गर्नु सम्भव मात्र नभई लोकतान्त्रिक मूल्य मान्यताविपरीत हुने स्पष्ट पारेका हुन् ।

अंसारीले पछिल्लो समय राजनीतिक वृत्तमा देखिएको आरोप प्रत्यारोप र शंकाको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै गोप्य मतदान लोकतन्त्रको आत्मा रहेको र यसमा शंका नभई सम्मान हुनुपर्ने धारणा राखेका छन् ।

उनले सुधारको नाममा मतदातामाथि प्रश्न उठाउनुको सट्टा राजनीतिक दल र तिनका प्रतिनिधिहरूको चरित्रमाथि प्रश्न उठाउनुपर्ने बताए ।

‘साँच्चै सुधार चाहने हो भने आम्दानीको स्रोतबिना विलासी जीवन बिताउने नेताहरू, व्यवसायीलाई धम्क्याएर चन्दा असुल्ने समूह, फाइल ठेक्कामा लिएर सिंहदरबार धाउने दलाल र कमिशनमा योजना बेच्ने प्रतिनिधिहरूमाथि कडा कारबाही हुनुपर्छ,’ अंसारीले भने ।

त्यस्तै, उनले सामाजिक र राजनीतिक दुवै क्षेत्रमा विकृति बढ्दै गएको उल्लेख गर्दै बलात्कारजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरू खुलेआम घुमिरहेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

यस्ता घटनामा संलग्नलाई राजनीतिक संरक्षण दिनु झन् खतरनाक हुने उनको भनाइ छ ।

सांसद अंसारीले लोकतन्त्रलाई बलियो बनाउन मतदाताको गोपनीयताको रक्षा गर्दै राजनीतिक चरित्र शुद्धीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘भोट होइन, चरित्र जाँच्नुहोस्, यही नै साँचो र वैज्ञानिक शुद्धीकरण हो,’ उनले भने ।