कुकर बम विस्फोट प्रकरण: लेखापढी व्यवसायी पक्राउ, अनुसन्धान तीव्र

सिरहा, ६ चैत । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा संलग्नताको आशंकामा प्रहरीले एक लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सुखीपुर नगरपालिका–३ निवासी गुमस्ता यादवलाई शङ्काको आधारमा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उनलाई चार दिनदेखि नियन्त्रणमा राखेर घटनाबारे गहन अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले घटनाको विस्तृत विवरण अनुसन्धान निष्कर्षपछि मात्र सार्वजनिक गरिने जानकारी दिए ।
उनका अनुसार हालसम्म प्राप्त सूचनाका आधारमा एक जनालाई पक्राउ गरिएको र थप प्रमाण संकलनको काम जारी रहेको छ ।
पक्राउ परेका यादव सिरहा अदालत परिसर अगाडि नै कार्यालय सञ्चालन गरी लेखापढी व्यवसाय गर्दै आएका थिए ।
गत फागुन २७ गते अपराह्न भएको विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए । घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव रहेका छन् । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
विस्फोटबाट कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको छ । घटनापछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


