धनुषामा वैशाख २ देखि आर्थिक गणना सुरु हुँदै

जनकपुरधाम, ४ चैत । देशको वास्तविक आर्थिक अवस्थाको एकिन गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको आर्थिक गणनाअन्तर्गत धनुषा जिल्लामा वैशाख २ गतेदेखि गणना कार्य सुरु हुने भएको छ ।
जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलको अध्यक्षतामा बसेको समन्वय बैठकले गणनालाई प्रभावकारी र सफल बनाउन सबै सरोकारवाला निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले आर्थिक गणनाका लागि खटिने गणकहरूलाई सही र यथार्थ विवरण उपलब्ध गराउन सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरे ।
उनले तथ्याङ्क ऐनअनुसार सङ्कलन गरिने व्यक्तिगत तथा आर्थिक विवरण पूर्ण रूपमा गोप्य रहने कानुनी व्यवस्था भएकाले कुनै जानकारी लुकाउन नहुने स्पष्ट पारे ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले आर्थिक गणनालाई सफल बनाउन संघले पूर्ण सहयोग गर्ने बताए । त्यसैगरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले यथार्थ विवरण संकलनका लागि व्यवसायीहरूलाई विश्वासमा लिनुपर्ने आवश्यकता औंल्याए ।
जिल्ला आर्थिक गणना अधिकारी श्रीनारायण महतोका अनुसार धनुषामा आर्थिक गणनाका लागि ७८ जना गणक र ११ जना सुपरभाइजर परिचालन गरिनेछ । जिल्लाभर सञ्चालन हुने यस गणनामा उद्योग, व्यापार, सेवा लगायतका सबै आर्थिक गतिविधिहरू समेटिनेछन् ।
बैठकमा सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, सुनचाँदी व्यवसायी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपालमा यसअघि एक पटक मात्र आर्थिक गणना गरिएकोमा अहिले दोस्रो पटक पुनः गणना गर्न लागिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


