काठमाडौं, १ चैत । जनमत पार्टीले आफ्नो महाधिवेशनको मिति परिवर्तन गर्दै आगामी असोज ९ र १० गते आयोजना गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले यसअघि तय गरिएको चैत २० र २१ गतेको मिति सार्दै नयाँ मिति निर्धारण गरेको हो ।

पार्टीका महासचिव चन्दन सिंहका अनुसार संगठनात्मक तयारी तथा अन्य कारणले महाधिवेशनको समय तालिका परिवर्तन गरिएको हो ।

बैठकले हालै सम्पन्न निर्वाचनमा पार्टीले बेहोरेको पराजयबारे गहन समीक्षा गर्ने निर्णयसमेत गरेको छ ।

सो प्रयोजनका लागि पार्टीले देशभर क्षेत्रीयस्तरमा बैठक आयोजना गरी विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ ।

ती प्रतिवेदनहरू आउँदो शनिबारसम्म केन्द्रीय सचिवालयमा बुझाउन भनिएको महासचिव सिंहले जानकारी दिए ।

यसैबीच, संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न निर्देशन दिएको छ ।

१४ चैतभित्र केन्द्रीय प्रतिनिधिको रोहबरमा तदर्थ जिल्ला पदाधिकारी चयन गरी संगठनलाई सक्रिय बनाउने तयारी पार्टीले गरेको जनाएको छ ।

पार्टी नेतृत्वले आगामी महाधिवेशनलाई संगठन पुनर्गठन र भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।