महोत्तरीमा ग्यास बिक्री वितरणमा कडाइ, एक परिवारलाई एक सिलिण्डर मात्र दिन प्रशासनको निर्देशन

महोत्तरी, १ चैत । महोत्तरीमा एलपी ग्यासको बिक्री तथा वितरणलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।
हालै विभिन्न सञ्चार माध्यममा ग्यास अभावसम्बन्धी समाचार प्रकाशित भएपछि सरोकारवाला निकायसँगको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा फागुन २८ गते बसेको बैठकले उपभोक्तालाई प्राथमिकतामा राख्दै ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार पोखरेलले जानकारी दिए ।
प्रशासनका अनुसार ग्यास अभावको हल्ला फैलिन थालेपछि बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।
प्रशासनले ग्यास बिक्री गर्दा एक परिवारलाई एक सिलिण्डर मात्र उपलब्ध गराउन र त्यसका लागि उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा मिति उल्लेख गरी अभिलेख राख्न विक्रेतालाई निर्देशन दिएको छ । यसले वास्तविक उपभोक्तासम्म ग्यास सहज रूपमा पुग्ने अपेक्षा गरिएको प्रशासनको भनाइ छ ।
यस्तै, हल्लाको भरमा ग्यास अभाव हुन सक्ने भन्दै अत्यधिक मात्रामा ग्यास भण्डारण नगर्न प्रशासनले उपभोक्तालाई पनि आग्रह गरेको छ ।
अनुचित भण्डारण गर्ने, सहज आपूर्ति नगर्ने, कार्टेलिङ गर्ने वा कालोबजारी गर्ने व्यापारीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
प्रशासनले बोतल, ग्यालेन वा जर्किनमा इन्धन भण्डारण नगर्न पनि आग्रह गरेको छ । साथै, ग्यास हुँदाहुँदै पनि नभएको भन्दै उपभोक्तालाई सास्ती दिने, अतिरिक्त मूल्य लिने वा कम तौलको ग्यास बिक्री गर्ने जस्ता गतिविधि नगर्न विक्रेतालाई सचेत गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जलेश्वरसहित बर्दिबास, गौशाला र रामगोपालपुर क्षेत्रमा प्रशासन तथा सम्बन्धित निकायको समन्वयमा बजार अनुगमन पनि निरन्तर सञ्चालन भइरहेको छ ।
प्रशासनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न तथा वैकल्पिक रूपमा विद्युतिय चुल्हो प्रयोग गरी ग्यासमाथिको निर्भरता कम गर्न आग्रह गरेको छ ।
यदि कतै लुकाइछिपाइ ग्यास भण्डारण गरिएको वा गैरकानूनी रूपमा बिक्री वितरण भएको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपतकालीन नम्बर १०० मा जानकारी दिन पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले जारी गरेको सूचनाविपरीत ग्यास बिक्री वितरण भएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


