जमिनमा गाडिएको अवस्थामा मोटरसाइकल फेला

जनकपुरधाम, २७ फागुन । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ स्थित मगरथानामा जमिनमा गाडिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ ।
स्थानीयवासीले शंकास्पद अवस्थामा जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
त्यसपछि पुगेको प्रहरी टोलीले जमिनबाट मोटरसाइकल निकालेर नियन्त्रणमा लिएको हो ।
फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेण्डर रहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल हाल प्रहरी चौकी मगरथानामा राखिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल कसले र किन जमिनमा गाडेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र मोटरसाइकलको वास्तविक मालिक एवम् घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरी चौकी मगरथानाले जनाएको छ ।
प्रहरीले मोटरसाइकलसँग सम्बन्धित व्यक्तिको खोजी गर्दै घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।





