काठमाडौं, २७ फागुन । भारतको सर्वोच्च अदालतले पहिलो पटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिँदै ऐतिहासिक फैसला सुनाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको हो ।

गाजियावाद निवासी राणा हालसम्म लाइफ सपोर्ट प्रणालीको सहायतामा मात्रै जीवित रहेका छन् ।

न्यायाधीश जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले लामो समयदेखि बहसमा रहेको भावनात्मक मुद्दामा बुधबार यस्तो फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राणाका आमा निर्मला राणा र बाबु अशोक राणाले दायर गरेको अपिलका आधारमा अदालतले निर्णय गरेको हो ।

अदालतले राणाको उपचार भइरहेको एम्स अस्पताललाई लाइफ सपोर्ट प्रणाली क्रमिक रूपमा हटाउन निर्देशन दिएको छ । साथै, उक्त प्रक्रिया बिरामीको मर्यादा र सम्मान कायम राख्ने गरी सावधानीपूर्वक पूरा गर्नुपर्ने पनि अदालतले उल्लेख गरेको छ ।

यससँगै सर्वोच्च अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्युसम्बन्धी स्पष्ट र व्यापक कानुन बनाउने विषयमा समेत विचार गर्न आग्रह गरेको छ ।

निष्क्रिय इच्छामृत्यु भनेको बिरामी निको नहुने अवस्थामा जीवन बचाउन प्रयोग भइरहेको उपकरण हटाइदिने प्रक्रिया हो । यसले बिरामीलाई स्वाभाविक रूपमा मृत्यु हुन दिने व्यवस्था छ ।