जनकपुरधाम, १२ फागुन । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशको चुनावी माहोल दिनप्रतिदिन तातिरहेको छ ।

पोस्टर, झण्डा, घरदैलो र चोकचौराहामा हुने छलफलले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ लाई चुनावी केन्द्रबिन्दु बनाएको छ ।

सुरुमा नयाँ दल र नयाँ अनुहारको चर्चा तीव्र देखिए पनि पछिल्ला दिनमा मतदाताको धार क्रमशः अनुभवी नेतृत्वतर्फ फर्किँदै गएको भेटिएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई लिएर स्थानीय तहमा पुनः भरोसा बढ्दै गएको देखिन्छ ।

मतदातासँग गरिएको लामो संवादमा धेरैले ‘लहरभन्दा कामको निरन्तरता’ रोज्ने मनस्थितिमा पुगेको बताएका छन् ।

चुनावी शुरुवातमा सामाजिक सञ्जाल र भाषणका कारण नयाँ विकल्पप्रति उत्साह देखिएको थियो । तर, गाउँ टोलमा मतदाता भेट्दै जाँदा अन्तिम निर्णय गर्दा उनीहरूले विगतका काम, पहुँच र संकटका बेला साथ दिएको नेतृत्वलाई प्राथमिकता दिने प्रवृत्ति बलियो देखियो ।

जनकपुरधाम उपमहानगरपालिका–८ का हरिनारायण साह भन्छन्,’ चुनाव आउँदा धेरै कुरा सुनिन्छ । तर, पाँच वर्षमा को आयो, कसले फोन उठायो, कसले समस्या सुन्ने काम गर्‍यो भन्ने कुरा अन्तिममा निर्णायक हुन्छ ।’

धनुषा–३ मा विकासका आधारभूत मुद्दा अझै केन्द्रमै छन् । ग्रामीण सडक, कृषि सिँचाइ, अस्पतालको सेवा र युवा रोजगारीबारे मतदाताको चिन्ता स्पष्ट देखिन्छ ।

धनौजी गाउँपालिका–२ का किसान महेश यादवले भने, ‘हामीलाई भाषण नभई सिँचाइ चाहियो । मन्त्रालयसम्म कुरा पुर्‍याउन सक्ने नेता चाहिन्छ ।’

उनका अनुसार राष्ट्रिय राजनीतिमा पहुँच भएका प्रतिनिधिले मात्रै स्थानीय योजना अघि बढाउन सक्ने विश्वास गाउँमा बलियो छ ।

कांग्रेसको पुरानो संगठनात्मक संरचना चुनाव नजिकिँदै जाँदा सक्रिय बनेको छ । टोल समिति, पुराना कार्यकर्ता र परिवारगत नेटवर्कले मतदाता पुनः संगठित गरिरहेको देखिन्छ ।

नगराइन–६ कि उर्मिला कुमारी भन्छिन्, ‘पहिले अलि अन्योल थियो । अहिले गाउँमा कार्यकर्ता सक्रिय भएपछि फेरि पुरानै माहोल फर्किएको छ ।’

वैदेशिक रोजगारीबाट फर्किएका मतदातामा सुरुमा परिवर्तनको चाहना बलियो देखिए पनि स्थानीय अवस्था बुझ्दै जाँदा उनीहरू दुई धारमा विभाजित भएका छन् । धेरैले स्थिरता र अनुभवलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

साउदीबाट फर्किएका रमेश मण्डलले भने, ‘बाहिर हुँदा धेरै कुरा आकर्षक लाग्छ । तर, गाउँ आएपछि काम कसले गर्‍यो भन्ने हिसाब हुन्छ ।’

युवा मतदातामा रोजगारी, उद्यम र शिक्षा मुख्य एजेन्डा बनेको छ । केही युवाले नयाँ विकल्प रोज्नुपर्ने धारणा राखे पनि अर्को ठूलो समूहले नीति र अनुभव आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाम–१५ का साजन दास भन्छन्, ‘स्टार्टअप, तालिम र अवसरको कुरा योजना स्तरमै हुनुपर्छ । त्यो गर्न सक्ने क्षमता भएको नेतृत्व चाहिन्छ ।’

धेरै परिवारमा फरक राजनीतिक धार देखिए पनि अन्तिममा सामूहिक निर्णय पुरानै दलतर्फ जाने प्रवृत्ति देखिएको छ ।

नगराइन–२ का एक परिवारमा बाबु परिवर्तनको पक्षमा भए पनि आमा र दाजुभाइले कांग्रेसलाई मत दिने बताएपछि अन्तिम निर्णय त्यतै गएको उदाहरण भेटियो ।

स्थानीय शिक्षक कृष्णदेव झा भन्छन्, ‘मधेशमा परिवारको निर्णय अझै प्रभावकारी हुन्छ ।’

मधेश केन्द्रित दलहरूको प्रभाव यस क्षेत्रमा अपेक्षाकृत कमजोर देखिएको छ ।

संगठन कमजोर हुनु, आन्तरिक विभाजन र प्रदेश सरकारमा देखिएको प्रदर्शनप्रति असन्तुष्टिले मतदाता वैकल्पिक धारमा सरेको विश्लेषण स्थानीय राजनीतिक वृत्तमा छ ।

यसको लाभ कांग्रेस र अन्य राष्ट्रिय दललाई पुग्ने आकलन गरिएको छ ।

धेरै मतदाताले प्रत्यक्ष र समानुपातिकमा फरक निर्णय गर्ने बताएका छन् । प्रत्यक्षतर्फ अनुभवी उम्मेदवार रोज्ने र समानुपातिकमा अन्य विकल्प रोज्ने प्रवृत्तिले कांग्रेसलाई प्रत्यक्षमा फाइदा पुग्ने सम्भावना देखिएको छ ।

मुखियापट्टी मुसहरनिया–५ का देवकुमार पासवानले भने, ‘क्षेत्रको कामका लागि प्रतिनिधि बलियो चाहिन्छ । त्यसैले प्रत्यक्षमा सोचेर भोट हाल्छौँ ।’

राजनीतिमा लामो समय बिताएका उम्मेदवारको व्यक्तिगत सम्बन्ध, संकटका बेला उपस्थिती र प्रशासनिक पहुँचले मतदातामा प्रभाव पारिरहेको छ ।

धेरैले समस्या पर्दा भेटिने नेता भन्ने मापदण्ड प्रयोग गरिरहेको बताएका छन् ।

जनकपुरधाम–४ का ज्येष्ठ नागरिक रामलोचन मल्लिकले भने,’नेता भनेको चुनावमा मात्र नभई बीचमा पनि देखिनुपर्छ ।’

यस क्षेत्रमा उल्लेख्य प्रतिशत मतदाता अझै अनिर्णित छन् । तर, स्थानीय विश्लेषकका अनुसार यी मतदाता अन्तिम समयमा स्थिर विकल्प रोज्ने सम्भावना बढी हुन्छ ।

स्थानीय सुरेन्द्र ठाकुर भन्छन्,’अनिर्णित मतदाता जोखिम लिन चाहँदैनन् । अन्तिममा उनीहरू भरोसाको विकल्प रोज्छन् ।’

महिला मतदाताको सहभागिता यसपालि उल्लेख्य देखिएको छ । स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षा योजनाले उनीहरूको निर्णयमा प्रभाव पारेको देखिन्छ ।

धनौजी–१ कि माया देवी भन्छिन्, ‘हामीलाई अस्पताल, विद्यालय र सुरक्षाको कुरा महत्वपूर्ण छ । जसले त्यो सुनिश्चित गर्छ, भोट त्यतै जान्छ ।’

चुनाव नजिकिँदै जाँदा घरदैलो, कोणसभा र साना छलफल बढेका छन् । उम्मेदवारहरूले विकास, स्थिरता र प्रतिनिधित्वका मुद्दा अघि सारेका छन् ।

स्थानीय तहमा हुने प्रत्यक्ष संवादले मतदाताको धार फेरिने क्रम अझै जारी रहेको देखिन्छ ।

धनुषा–३ को चुनाव लहरको नभई लामो राजनीतिक यात्राको मूल्यांकन बनेको छ ।

सुरुमा देखिएको उत्साह र बहसबीच अन्तिममा संगठन, सम्बन्ध र अनुभव निर्णायक बन्ने देखिएको छ ।

पछिल्ला दिनको संवाद र स्थानीय समीकरण हेर्दा नेपाली कांग्रेसका उम्मेदवारको आधार मत मजबुत बन्दै गएको र प्रतिस्पर्धामा अग्रस्थानका लागि बलियो दाबेदारी कायम भएको देखिन्छ ।

चुनावको परिणाम भने अनिर्णित मतदाता, अन्तिम प्रचार र मतदान दिनको सहभागिताले तय गर्नेछ । तर, एउटा कुरा स्पष्ट देखिएको छ — धनुषा–३ मा मतदाता परिवर्तनको नारामा नभई काम, पहुँच र विश्वासको आधारमा निर्णय गर्ने मनस्थितिमा पुगेका छन् ।