सीआईबीको असई हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

रौतहट, २६ माघ । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा स्थायी घर भई हाल कविलासी नगरपालिका बस्दै आएकी ३५ वर्षीया निर्मला महतो रहेकी छन् । उनले नेहा, निशा र पुनम कुमारीलगायतका विभिन्न उपनाम प्रयोग गर्दै लामो समयदेखि ठगी धन्दा सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै सस्तो मूल्यमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई फसाउने गरेकी थिइन् । सोही बहानामा उनले विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार निर्मलाले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन् । सोही नक्कली परिचयपत्रको प्रयोग गरी उनले माछापुच्छ्रे बैंकमा खाता खोलेर नक्कली हस्ताक्षरमार्फत चेक प्रयोग गर्दै ठगी गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा उनले चन्द्रपुरस्थित एक ज्वेलर्सबाट २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदी उधारो लिएर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख रुपैयाँ सापटी लिएको तथा किराना पसल र गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको तथ्य खुलेको छ । पीडितको विश्वास जित्न उनले आफू प्रहरी भएको नक्कली परिचय देखाउने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएकी थिइन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङका अनुसार विभिन्न कागजात, बैंक खाता र डिजिटल विवरणको विस्तृत अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुल्न सकेको हो ।
हाल निर्मला महतोमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता घटनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


