रौतहट, २६ माघ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यमाथि कुटपिट तथा लुटपाटसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ ।

गरुडा नगरपालिका–६ स्थित आदर्श आयल स्टोरमा गत माघ १५ गते राति भएको घटनालाई लिएर पीडित पक्षले पत्रकार सम्मेलन गरी प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

पत्रकार सम्मेलनमा पेट्रोल पम्प सञ्चालक राकेश चौधरीले पेट्रोल भरेको पैसाको विषयमा विवाद उत्पन्न भई एक समूहले पम्पमा आक्रमण गरेको दाबी गरे । उनका अनुसार आक्रमणका क्रममा गरुडा–६ का वडा अध्यक्ष रामबाबु चौधरीका छोराहरू रञ्जित चौधरी र रोहित चौधरी घाइते भएका छन् ।

घाइतेमध्ये रञ्जित चौधरीको नाकमा गम्भीर चोट लागेको र काठमाडौंमा शल्यक्रियाको तयारी भइरहेको परिवारले जनाएको छ । घटनाका क्रममा ६५ हजार रुपैयाँ नगद समेत लुटिएको पीडित पक्षको दाबी छ ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामबाबु चौधरीले घटनालाई डाँका तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गर्न नामै किटान गरेर जाहेरी दिन खोज्दा डीएसपी आचार्यले अस्वीकार गरेको आरोप लगाए । ‘हामी गम्भीर अपराधको जाहेरी लिएर गएका थियौँ । तर, प्रहरीले ‘अभद्र व्यवहार’को मुद्दा मात्र ल्याउन भनेको छ,’ उनले भने ।

उनका अनुसार घटना प्रहरी चौकीबाट करिब ३० मिटरको दूरीमै भएको भए पनि तत्काल सुरक्षा प्रदान नगरेको र अहिले अपराधीलाई जोगाउने प्रयास भइरहेको छ । ‘प्रहरीको यस्तो व्यवहारले पीडित थप पीडित बनेका छन्,’ उनले भने ।

यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले घटनासम्बन्धी सीसीटीभी फुटेजको अध्ययन भइरहेको र हालसम्म लुटपाट वा ज्यान मार्ने उद्देश्य स्पष्ट रूपमा देखिन नसकेको बताएका छन् ।

‘घटनाको अनुसन्धान भइरहेको छ । जाहेरी नै नआएकाले मुद्दा दर्ता नभएको हो,’ डीएसपी आचार्यले भने, ‘लागेका आरोपहरू प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु ।’

उनका अनुसार प्रहरी तथ्य र प्रमाणका आधारमा मात्रै मुद्दा दर्ता गर्न बाध्य हुन्छ र अनुसन्धान प्रक्रिया निष्पक्ष रूपमा अघि बढाइने छ ।

घटनालाई लिएर स्थानीयस्तरमा प्रहरीको निष्पक्षता र जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ । पीडित पक्षले न्याय नपाए थप आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

एकातर्फ पीडितले गम्भीर आपराधिक घटना भएको दाबी गरिरहेका छन् भने अर्कोतर्फ प्रहरीले प्रारम्भिक अनुसन्धानमा त्यस्तो पुष्टि नभएको बताइरहेको छ । घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग स्थानीयस्तरमा बढ्दो छ ।