जनकपुरधाम, २० माघ । जनमत पार्टीभित्र बढ्दो आन्तरिक असन्तुष्टि र विवादका बीच केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासमानसहितका नेताहरूले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

पार्टी केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा उनीहरूले पार्टीभित्र लोकतान्त्रिक मूल्य, समानता, समावेशिता र न्यायका सिद्धान्त कमजोर बन्दै गएको आरोप लगाएका छन् ।

पत्रमा पछिल्लो समय विचार र सिद्धान्तबाट विचलन हुँदै गएको, अलोकतान्त्रिक गतिविधि बढेको तथा पहुँचका आधारमा जातीय विभेद र गैरराजनीतिक व्यक्तिहरूको प्रभाव बढ्दै गएको उल्लेख गरिएको छ ।

राजीनामा पत्रमा हस्ताक्षर गर्ने नेताहरूले यस्ता प्रवृत्तिका कारण पार्टीको भविष्य नै संकटमा परेको महसुस भएको बताएका छन् । सोही कारण पार्टीसँगको सम्बन्ध अन्त्य गर्दै अब उपरान्त कुनै पनि गतिविधिमा संलग्न नहुने निर्णय लिएको जनाएका छन् ।

राजीनामा दिनेमा केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासमान, केन्द्रीय सदस्य रामेश्वर यादव, जागेश्वर यादव तथा जिल्ला तहका नेता बरी किशोर पासवानलगायत रहेका छन् ।