धनुषा–४ बाट एमाले उपमहासचिव रघुवीर महासेठको उम्मेदवारी दर्ता

जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
बाजागाजा र नेता कार्यकर्ताको जुलुशसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका महासेठले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै महासेठले यसपटकको निर्वाचनमा पनि नेपाली जनताले एमालेलाई नै विश्वास गर्ने दाबी गरे । उनले एमाले नेतृत्वको सरकारले देशभर अघि बढाएको विकासको लहर जनताले प्रत्यक्ष रूपमा देखिसकेको उल्लेख गर्दै स्थायित्व, समृद्धि र सुशासनका लागि फेरि पनि जनताको साथ एमालेले पाउने विश्वास व्यक्त गरे ।
महासेठले पूर्वाधार विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा एमालेले गरेको काम नै आफ्नो प्रमुख आधार भएको बताए । धनुषा–४ को विकासलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
पछिल्लो निर्वाचनमा महासेठ यही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

