सर्लाही, १९ पुष । सर्लाहीको सागरनाथ वन परियोजनामा कार्यरत एक चौकीदारको नृशंस हत्या गरिएको छ ।

शनिबार साँझ परियोजनाका चौकीदार रामेश्वर महतोको टाउको छिनाएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता सरोज राईका अनुसार घटनास्थलमा बन्चरोसमेत भेटिएको छ । त्यसको आधारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको आशंका गरिएको छ । महतोको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै थप अनुसन्धानका लागि प्रदेश प्रहरीबाट स्पेसल कुकुर टोलीसमेत घटनास्थलमा पठाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।

हत्या भएका चौकीदार रामेश्वर महतो ईश्वरपुर नगरपालिका–२ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचान गर्न विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले स्थानीयसँग सोधपुछ गर्नुका साथै घटनास्थल वरपरको गतिविधिबारे जानकारी संकलन गरिरहेको छ ।

हत्याको वास्तविक कारण र दोषी पत्ता लगाउने प्रयास जारी रहेको जनाउँदै प्रहरीले आवश्यक परे थप अनुसन्धान टोली परिचालन गरिने जनाएको छ ।