-कुमार यादव
जनकपुरधाम, १९ पुष ।
मधेशको जनजीवन र अर्थतन्त्रमा यहाँका हाट बजारहरूको केन्द्रीय भूमिका रहँदै आएको छ । यसको इतिहासबारे लिखित स्रोत भेट्टाउन गाह्रो छ । यद्यपि गाउँघरका बुढापाकाहरूसँग सोधपुछ गर्दा यसको इतिहास निकै पुरानो भएको देखिन्छ । पहिला–पहिला तुलनात्मक रूपमा निकै कम गाउँहरूमा मात्र हाट बजार लाग्ने गर्थ्यो । वरपरका मानिसहरू आ–आफ्नो पायक पर्ने हाट बजारमा तरकारी, किराना सामान तथा अन्य दैनिक उपभोगका वस्तुहरू किन्न जान्थे । त्यस्तै, किसानहरू तरकारी तथा अन्य उत्पादन बेच्न बजार जान्थे ।

पहिला–पहिला हाटबजार क्षेत्रमा केही किराना पसलका स्थायी संरचना थिए भने लत्ताकपडा, तरकारी, खाजा, माछा मासु आदि खुल्लामै बिक्री हुने गर्दथे । पशुहरूको खरिद बिक्री हुने हाट बजारहरू झनै कम थिए । बजार जाने बाटोमा तथा बजार वरिपरि गल्लावालाहरू कहाँ किसानहरूले धान, चामल, दाल, दलहन बेचेर पैसा लिँथे र उक्त पैसाले हाट बजारमा उपभोग्य वस्तुहरू खरिद गर्दथे । तरकारी र किराना सामान गाउँका धनी–गरिब सबैले हाटमै किन्दथे भने लत्ताकपडा, कस्मेटिक सामान आदि हुनेखानेले नजिकको शहरबाट किनमेल गर्थे भने न्यून आय भएकाहरू स्थानीय हाटमै निर्भर हुन्थे ।

हाल आएर लगभग प्रायः सबै गाउँमा कम्तीमा तरकारी किनबेच हुने हाट लाग्ने गरेको छ । हाट बजार प्रायः ठाउँमा हप्ताको दुई दिन लाग्ने गरेको पाइन्छ । यद्यपि, अलि ठूला बजारतिर ‘गुद्री बजार’ भनेर सानो स्तरमा दैनिकजसो बजार लाग्ने गरेको छ । अहिले अलि पुराना सबै हाट बजारहरूमा किराना, कपडा, गल्ला, मल–खाद, औषधि, खाजा घर (मांसाहारी), मिठाई पसल, कस्मेटिक पसल, जुत्ता–चप्पल पसल, टेलर, सैलुन, मासु पसल, गहना पसल आदि जस्ता पसलहरूको स्थायी संरचना नै छ र हप्ताभरि नै यी पसलहरू खुला रहने गरेका छन् ।

तरकारी, माछा आदि अल्पायु भएका कृषि उत्पादन भने हाट बजार लाग्ने दिनहरूमा मात्रै पाइन्छ । खेतीका लागि गोरुको आवश्यकता सकिँदै जानु, गाई, भैंसी, बाख्राको व्यावसायिक पालनमा बढोत्तरी आउनु आदि जस्ता कारणले पशु बजारको विस्तार त्यति तीव्र भएको पाइँदैन । हाटमा तरकारी बेच्न आउने किसानको संख्या दिनानुदिन घट्दो छ भने पैकार (बिचौलिया) को संख्या बढ्दो छ ।

पहिला–पहिला मधेशमा खाली जग्गा जमिनको कमी थिएन । हाट लाग्न थालेपछि समयसँगै त्यस्ता क्षेत्रमा व्यावसायिक प्रयोजनका घर–टहरा निर्माण बढ्दै जाँदा जग्गाको स्वामित्व विवाद, जग्गा किचलो तथा अतिक्रमणका घटनाहरू बढ्न थालेको देखिन्छ । कतिपयका बाजे–बराजुले तत्कालीन समयमा दानसरह दिएको जग्गा हाल मूल्य आकासिँदा तिनका सन्ततिले निजी प्रयोग गर्दा वा गर्न खोज्दा विवादका घटनाहरू पनि सुन्न पाइन्छ । यस्ता हाट बजारको स्वामित्व प्रायः स्थानीय विद्यालय वा अन्य निकायमा रहने गरेको छ । तिनीहरूले तोकिएको अवधिका लागि ठेक्का लगाउँछन् र ठेक्का पाएकाहरूले बजारको दिन व्यापारी तथा विक्रेताबाट बट्टी उठाउने गर्दछन् ।

केही दिनअघि एउटा अन्तर्वार्तामा सुनेको थिएँ—नेपालमा बाटोघाटो बनेर विदेशका उत्पादन गाउँगाउँ पुगे, तर ग्रामीण उत्पादनको बजारीकरण हुन सकेन । ठिक यस्तै अवस्था तराईका हाट बजारहरूमा पनि देखिन्छ । आयातित फलफूल र बेमौसमी तरकारी हाटपिच्छे पाइन्छन्, तर स्थानीय उत्पादन बाहिर जान सकेको छैन । बरु स्थानीय उत्पादनले आफ्नै गाउँठाउँमै पनि प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएको छ ।

चाहे कोरोनाकाल होस् वा बन्द तथा कर्फ्युका बेला, कुनै न कुनै रूपमा यी हाट बजारहरू लागिरहे । आफ्नो उत्पादन बेचेर आर्जित पैसाले सोही हाटमा आवश्यक सामग्री किन्ने समयदेखि विदेशी रेमिट्यान्सबाट उपभोग बढेको हालको समयसम्म पनि हाट बजारको सान्दर्भिकता कायम नै छ ।

हालसम्म नेपालमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले हाट बजारको संरचनालाई स्थानीय अर्थतन्त्र सबल बनाउन कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा योजनाबद्ध रूपमा ध्यान दिएको पाइँदैन । हाटमा ल्याएको उत्पादन, विशेषगरी किसानको, नबिकेर फर्काउन नपरोस् भनेर चिस्यान केन्द्र वा वैकल्पिक माग सिर्जना गर्ने संयन्त्र निर्माण गर्न सरकार सक्षम हुनुपर्छ । हालका स्थानीय निकाय तुलनात्मक रूपमा अधिकारसम्पन्न भए पनि योजनाबद्ध रूपमा स्थानीय अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न सकेको आभास हुँदैन ।

प्रदेश र केन्द्र सरकारले समग्र तथा अन्तरसम्बद्ध सञ्जालको स्तरमा यस्ता हाट बजारहरूको उपयोग गरी प्रदेश तथा देशको अर्थतन्त्र कसरी उकास्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । कुनै ठाउँमा जग्गा अभाव वा अन्य कारणले हाट बजार विस्तारको सम्भावना हुँदाहुँदै पनि विस्तार हुन नसकिरहेको खण्डमा आवश्यक व्यवस्था गरी सम्बद्ध निकायले सहयोग गर्नुपर्छ ।

जनस्वास्थ्य र सार्वजनिक सुलभताका लागि उचित जनचेतना, सार्वजनिक शौचालय, पार्किङ सुविधा आदिको व्यवस्था गर्नुपर्छ । विभिन्न ठाउँमा सडकमै हाट लाग्दा यात्रुलाई कठिनाइ हुने भएकाले उचित स्थानमा स्थानान्तरण गर्नुपर्छ । एउटै स्थानीय निकायभित्र एकै दिन सकेसम्म एकभन्दा बढी ठाउँमा हाट नलागे राम्रो हुन सक्छ ।

स्थानीय उत्पादन र यसको गुणस्तरलाई ध्यान दिई कुनै विशेष उत्पादनका लागि विशेष बजारको प्रचारप्रसार गर्न सकिन्छ । प्राथमिक उत्पादनलाई थप प्रशोधन वा प्याकेजिङ गरी अझ टिकाउ तथा ओसार–पसारमा सहज बनाउनेतर्फ पनि ध्यान दिन सकिन्छ । हाट लाग्ने दिन र समयमा ढुवानी तथा सवारी यातायातलाई प्रभावकारी बनाउनेतर्फ सोच्नुपर्छ ।

हाम्रो अर्थतन्त्र पिछडिनुमा उपलब्ध संयन्त्र तथा तौरतरिकालाई अद्यावधिक गर्नुको साटो समाजले नचिनेको अर्थतन्त्रतर्फ पूर्ण रूपमा उन्मुख हुनु पनि एउटा कारण हो । यसर्थ, पौराणिक समयदेखि चलिआएका र आज पनि समाजले उत्तिकै अपनाएका यी संयन्त्रहरूलाई तीनै तहका सरकारले अझ प्रभावकारी बनाउन योजनाबद्ध रूपमा लाग्नुको विकल्प देखिँदैन ।

(विचार लेखकका निजी हुन्।)