शिक्षा बिना समुन्नत समाजको कल्पना असम्भव: सभामुख यादव

जनकपुरधाम, १४ पुष । मधेश प्रदेशका सभामुख रामअशिष यादवले समाजको सर्वाङ्गीण विकासका लागि शिक्षा नै मूल आधार भएको बताएका छन् ।
जनकपुरधामस्थित मोनाष्टिक इङ्ग्लिस बोर्डिङ स्कुलले स्थापनको ४० वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले शिक्षा बिना समुन्नत, सभ्य र सक्षम समाजको परिकल्पना गर्न नसकिने स्पष्ट पारे ।
सभामुख यादवले विश्वका विकसित र समृद्ध राष्ट्रहरूको उदाहरण प्रस्तुत गर्दै शिक्षामा निरन्तर लगानी गरेका मुलुकहरू नै आज विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताए ।
‘शिक्षा कुनै एक वर्ग वा समुदायका लागि मात्र नभई समाजका हरेक तह र तप्काका व्यक्तिका लागि आवश्यक छ,’ उनले भने, ‘शिक्षाको उज्यालोले मात्र समाजमा चेतना, नैतिकता र जिम्मेवारीको विकास हुन्छ ।’
सभ्य समाज निर्माणमा शिक्षा र शिक्षकको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताउँदै सभामुख यादवले शिक्षकलाई सम्मान र शिक्षालाई प्राथमिकता दिन सके मात्र देशको भविष्य सुरक्षित हुने धारणा व्यक्त गरे ।
उनले भने, ‘जहाँ शिक्षा र शिक्षकको उच्च स्थान हुन्छ, त्यहाँ समाज स्वतः अनुशासित, सभ्य र समृद्ध बन्छ ।’
उनले शिक्षाले पुस्तौँ पुस्तासम्म समाजलाई समुन्नत बनाउँदै लैजाने प्रमुख माध्यमको रूपमा काम गर्ने उल्लेख गरे । त्यसैले विद्यालयहरूले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिक शिक्षा, संस्कार, अनुशासन र सामाजिक मूल्य–मान्यतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सभामुख यादवले वर्तमान प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूलाई व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षा दिन सके मात्र उनीहरू सक्षम नागरिकका रूपमा स्थापित हुन सक्ने बताए । ‘शिक्षा केवल परीक्षा पास गर्ने साधन होइन, असल नागरिक बनाउने माध्यम हो,’ उनले जोड दिए ।
कार्यक्रममा विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालयले ४० वर्षे यात्रामा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै सहभागीहरूले विद्यालयको भूमिका प्रशंसनीय रहेको बताएका थिए ।


