तराईमा तीन दिन हुस्सु र कुहिरोको प्रभाव कायम रहने

जनकपुरधाम, ११ पुष । देशभर चिसो बढ्दै गएको छ भने तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम जारी छ । यसले सडक यातायात र हवाई उडानमा समेत प्रभाव पारिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीनदिने बुलेटिनअनुसार तराई भू–भागमा अझै तीन दिन हुस्सु र कुहिरोको प्रभाव रहनेछ ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
राति तराईका धेरैजसो स्थानमा हुस्सु लाग्ने र पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई यस समयमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

