सभामुख यादवद्वारा मधेशका सञ्चारकर्मी सम्मानित

जनकपुरधाम, ११ पुष । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले प्रदेशमा कार्यरत सञ्चारकर्मीहरूलाई विशेष सम्मान गरेका छन् ।
प्रदेशसभा सचिवालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सभामुख यादवले मधेश प्रदेशका आठै जिल्लामा सक्रिय सञ्चारकर्मीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेका हुन् ।
कार्यक्रममा सभामुख यादवले सञ्चारकर्मीहरूलाई माला तथा तौलिया ओढाइ सम्मान गर्नुका साथै डायरी र कलम प्रदान गरे ।
उनले लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा तथा सामाजिक रूपान्तरणका हरेक चरणमा सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको उल्लेख गरे ।
‘मुलुकको हरेक राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक परिवर्तनमा सञ्चारकर्मीहरूले अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गरेका छन्,’ सभामुख यादवले भने, ‘त्यसैले सञ्चारकर्मीहरू सम्मानका पात्र हुन् ।’
सभामुख यादवले प्रदेशसभा र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ र पारदर्शी बनाउँदै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले प्रदेशसभा कुनै सत्तापक्ष वा विपक्षको मात्र संस्था नभई संविधान, लोकतन्त्र र जनताको अधिकारको संरक्षणका लागि स्थापित साझा संस्था भएको स्पष्ट पारे ।
सभामुख पदमा रहँदासम्म आफू प्रदेशको समृद्धि, सुशासन तथा संविधान र लोकतन्त्रको रक्षा र प्रवर्द्धनका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘लोकतन्त्र र संविधान संस्थागत भए प्रदेश मात्र नभई सम्पूर्ण मुलुक स्वतः समृद्धिको बाटोमा अगाडि बढ्छ ।’
कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूले पनि प्रदेशसभा सचिवालयद्वारा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै जिम्मेवार, तथ्यपरक र जनमुखी पत्रकारिता मार्फत लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सा र सप्तरी जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

