जनकपुरधाम, १३ कार्तिक । मधेश प्रदेशसभा सदस्य किरण कुमारी साहमाथि आफ्ना ससुरा–सासुलाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ । तर, सांसद साहले भने यी आरोपलाई राजनीतिक र चरित्र हत्या गर्ने नियोजित षड्यन्त्र भन्दै प्रतिवाद गरेकी छन् ।

सप्तरीको राजविराजस्थित सिरहा रोडमा बस्दै आएका ८० वर्षीय देवनारायण प्रसाद साह र उनकी श्रीमती शान्ति देवी साहले बुहारी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक सांसद किरण साह र उनका श्रीमान् इन्जिनियर विनोद साहविरुद्ध आरोप सार्वजनिक गरेका हुन् ।

देवनारायण साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमार्फत आफूहरूलाई घरबाट निकालिएको र शारीरिक रूपमा समेत कुटपिट गरिएको दाबी गरेका छन् । उनका अनुसार असोज २० गते मन्दिर गएको बेला घरको आलमीरा फोडी नागरिकता, जग्गा र घरसम्बन्धी कागजात चोरी गरियो । सोधपुछ गर्दा छोरा र बुहारीले दुव्र्यवहार गर्दै घर निकालेका थिए ।

उनले भने, ‘यो घर मैले ससुरालीतर्फबाट पाएको जग्गामा आफ्नै मेहनतले बनाएको हुँ । अहिले बुहारी किरण र छोरा विनोदले मलाई कुटपिट गर्दै घरबाट निकालिदिए ।’ देवनारायण साहका अनुसार असोज २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको र कार्तिक २ गते फेरि कुटपिटको घटना भएको छ ।

देवनारायण साहले सांसद साहमाथि उच्च पदको दुरुपयोग गरेर प्रहरी प्रशासन र न्यायालयमा प्रभाव जमाउने प्रयास गरेको आरोप समेत लगाएका छन् । ‘मैले उनलाई पढाएर वकिल बनाएको हुँ । तर, अहिले उनी नै आफ्नै ससुरालाई सडकमा ल्याउने प्रयास गर्दै छन्,’ उनले भावुक हुँदै भिडियोमा भनेका छन् ।

आफूमाथि लागेको सबै आरोप असत्य र राजनीतिक प्रेरित भएको प्रतिक्रिया सांसद किरण साहले दिएकी छन् । उनले भनिन्, ‘यो मेरो चरित्र हत्या र राजनीतिक छवि बिगार्ने नियोजित प्रयास हो । यो सामान्य पारिवारिक विवादलाई अनावश्यक रूपमा ठूलो बनाइएको हो ।’

उनका अनुसार घरभित्र चाडपर्वको तयारीका क्रममा ससुरा र श्रीमानबीच सामान्य विवाद भएको मात्र हो । ‘मेरो नन्द माधुरी साह जनमत पार्टीसँग जोडिएकी नेतृ हुन् । उनकै प्रभावमा पर्नुहुँदै ससुराले मेरो नाम यसमा तान्नुभएको हो,’ सांसद साहले भनिन् ।

सांसद साहले ससुरा–सासुलाई घरबाट ननिकालेको दाबी गर्दै उनीहरू आफ्नै छोरी माधुरी साहको घरमा गएर बसिरहेको बताइन् । ‘हामीले पटक–पटक फर्किन आग्रह गरेका छौं । तर, उहाँहरू आउनु भएको छैन,’ उनले भनिन् ।

कुटपिटको आरोपबारे पनि सांसद साहले खण्डन गर्दै भनिन्, ‘मेरो श्रीमान्ले होइन, उल्टै ससुराले उहाँलाई कुट्न खोज्नुभएको थियो । म त बीचबचाउ गर्न गएकी थिएँ ।’

यस प्रकरणमा जिल्ला प्रशासन कार्यालय सप्तरीले देवनारायण साहको उजुरी दर्ता गरेको पुष्टि गरेको छ । हाल प्रहरी प्रशासनले दुवै पक्षलाई बोलाएर छलफलका लागि तयारी गरिरहेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार विषय पारिवारिक विवादसँग सम्बन्धित देखिएको छ । तर, एक पक्ष सार्वजनिक पदमा भएकाले निष्पक्षरूपमा अनुसन्धान अघि बढाइने तयारी गरिएको छ ।

स्थानीयका अनुसार साह परिवारको यो विवादले राजविराजको सामाजिक र राजनीतिक वृत्तमा चर्को चर्चा पाएको छ । जसपा र जनमत पार्टीबीचको प्रतिद्वन्द्विताले पनि घटनामा राजनीतिक रंग थपिएको टिप्पणी गरिएको छ ।