महोत्तरी, १३ कार्तिक । शनिबारसम्म महोत्तरी जिल्लामा भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना उद्धृत गर्दै प्रशासनले जिल्लावासी, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलद्वारा जारी सूचना अनुसार यस अवधिमा निरन्तर वर्षा भई बाढी र डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले नदी किनार र डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परेमा स्थानीय तहले पहिचान गरेको सुरक्षित स्थानमा सर्ने तयारी गर्न अनुरोध गरेको छ । त्यस्तै, भारी वर्षाको अवस्थामा अत्यावश्यक नपरी बाहिर नजान र रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई सुझाव दिइएको छ ।

सवारी साधन र यात्रुहरूलाई जोखिम हुन नदिन सुरक्षा निकायले आवश्यक ठानेमा सवारी रोक्न सक्ने जनाइएको छ । साथै, खेतबारीमा रहेका धान तथा अन्य बाली कटिसकेको भए तत्काल भित्र्याउन किसानहरूलाई आग्रह गरिएको छ ।

प्रशासनले जिल्ला स्तरीय सबै निकायलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन निर्देशन दिँदै सम्भावित जोखिम न्यूनीकरणका लागि समन्वयपूर्वक काम गर्न अनुरोध गरेको छ ।

महोत्तरीमा पछिल्ला वर्षा र बाढीका कारण बारम्बार मानवीय र भौतिक क्षति हुने गरेका छन् । यस पटकको भारी वर्षाको चेतावनीलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायले पनि सतर्कता बढाएका छन् ।