जनकपुरधाम, २७ असोज । भारतीय महावाणिज्य दूतावास वीरगंजका काउन्सुलर देवी सहाय मिनाले सोमबार जनकपुरधामस्थित मैथिली विकास कोषको भवन अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कोषले गर्दै आएको कार्यको प्रशंसा गर्दै आपसी सांस्कृतिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काउन्सुलर मिनाको आगमनका अवसरमा आयोजित कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले संस्थाको स्थापना उद्देश्य, हालसम्मका उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए । मैथिली भाषाको संरक्षण, शैक्षिक अनुसन्धान, साहित्यिक प्रकाशन र सांस्कृतिक गतिविधि विस्तारका विषयमा विस्तृत छलफल गरिएको थियो ।

मिनाले भने, ‘मैथिली भाषा र संस्कृति नेपाल–भारत दुवै देशको साझा सम्पत्ति हो । यसको संरक्षण र प्रवर्द्धनका लागि दुवै पक्षबीच सहकार्य आवश्यक छ । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले यस दिशामा सम्भव सहयोग गर्न तयार छ ।’

उनले मैथिली समुदायको सामाजिक र सांस्कृतिक योगदानको उच्च प्रशंसा गर्दै सीमापार सम्बन्ध अझ सुदृढ बनाउने इच्छा व्यक्त गरे । उनले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र भाषिक दृष्टिले दक्षिण एसियाको महत्त्वपूर्ण केन्द्रका रूपमा व्याख्या गर्दै मैथिली समुदायको सक्रियता प्रशंसनीय भएको बताए ।

मैथिली विकास कोषका अध्यक्ष चौधरीले भारतीय काउन्सुलरको भ्रमण कोषका लागि प्रेरणादायी रहेको बताए । उनका अनुसार मैथिली भाषाको शिक्षण, अनुसन्धान र डिजिटल आर्काइभ निर्माणमा भारत र नेपालको साझा पहलले महत्वपूर्ण योगदान दिन सक्छ ।

काउन्सुलर मिनाले भवनका विभिन्न कक्षहरू, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष र प्रशिक्षण केन्द्रको अवलोकन पनि गरे । उनले कोषका अध्यक्ष चौधरीसँग संवाद गर्दै युवा पुस्तामाझ मैथिली भाषाको प्रयोग र पहिचान विस्तारका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

मैथिली विकास कोषले जनकपुरधाममा भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी अनुसन्धान तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।