निजी अस्पतालमा श्रम शोषण बढ्दै, स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा


जनकपुरधाम, २७ गते । मधेश प्रदेशका निजी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले श्रम शोषण, तलब–सुविधामा असमानता र कार्यस्थलमा असुरक्षाको गुनासो गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले आफ्ना ८ बुँदे माग सार्वजनिक गर्दै यदि ती मागहरू सम्बोधन नभए आगामी कार्तिक १६ गतेदेखि निजी अस्पतालहरू खाली गरेर शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
स्वास्थ्यकर्मी नवेश अधिकारीले पत्रकार सम्मेलनमा सरकारको निर्देशनविपरीत निजी स्वास्थ्य संस्थाहरूले लगातार नियम उल्लंघन गर्दै आएको आरोप लगाए । ‘मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले त्यसको पालना गरेका छैनन् । तलब, सुरक्षा, बीमा, कामको समयलगायतका विषयमा सरकारले तोकेका मापदण्ड ठाडै उल्लंघन गरिँदैछ,’ अधिकारीले भने ।
स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको ऐनअनुसार तलब स्केल सबै निजी अस्पतालमा अनिवार्य रूपमा लागू गरिनु पर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारी हटाएर प्रदेश लोकसेवाबाट प्रतिस्पर्धात्मक पदपूर्ति गर्नुपर्ने, सबै स्वास्थ्यकर्मीका लागि सुरक्षा र बीमा अनिवार्य गरिनु पर्ने, निजी अस्पतालमा साप्ताहिक ४२ घण्टा भन्दा बढी काम नगराउने प्रावधान लागू गरिनु पर्ने, स्वास्थ्यकर्मीहरूका परिवारका सदस्यलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराइनु पर्ने, प्रत्येक वर्ष कम्तीमा १० प्रतिशत तलब वृद्धि गरिनु पर्ने, स्वास्थ्य संस्थाभित्र हुने मानसिक तथा व्यावसायिक दवाब रोक्न स्पष्ट कार्ययोजना ल्याइनु पर्ने र कामको अवस्था र सेवा–सुविधा अनुगमन गर्ने स्वतन्त्र निकाय गठन गरिनु पर्ने माग गरेका छन् ।
स्वास्थ्यकर्मीहरूको आन्दोलनको चेतावनीसँगै मधेश प्रदेशका स्वास्थ्य सेवामा ठूलो असर पर्ने देखिएको छ । प्रदेशभर करिब २० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू निजी अस्पतालमा कार्यरत छन् । आन्दोलनका कारण स्वास्थ्य सेवा अवरुद्ध भएमा सर्वसाधारण बिरामीहरूलाई सास्ती हुने निश्चित छ ।
स्वास्थ्यकर्मीहरूले सरकार र सम्बन्धित निकायहरूलाई पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै ठोस प्रतिक्रिया नआएको गुनासो गरेका छन् । उनीहरूका अनुसार सरकार मौन बसिरहेकै कारण निजी अस्पतालहरूले कर्मचारीहरूमाथि दोहोरो शोषण गरिरहेका छन् ।
पत्रकार सम्मेलनमा सहभागी स्वास्थ्यकर्मीहरूले सरकारको बेवास्ता र निजी क्षेत्रको मनपरी दुवैलाई जिम्मेवार ठहर गर्दै अब न्याय नपाएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
