जनकपुरधाम, २६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको पहिलो एकता अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुँदैछ । पार्टीले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

अधिवेशन जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सोमबार दिउँसोबाट सुरु हुनेछ । जसमा प्रदेशका सबै ८ जिल्लाबाट करिब ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक गरी ६ सय जना सहभागी हुने पार्टीका मधेश प्रदेश अध्यक्ष बालकृष्ण प्रसाद यादवले जानकारी दिए ।

अधिवेशनको उद्घाटन जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने अधिवेशनमा देशको समसामयिक राजनीतिक अवस्था, जेनजी पुस्ताले उठाएका मुद्दा र मधेश प्रदेशको राजनीतिक दिशा लगायत विषयमा विस्तृत छलफल हुने अध्यक्ष यादवले बताए ।

उनका अनुसार अधिवेशनमार्फत अध्यक्ष, पदाधिकारी र ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरिनेछ । साथै, अधिवेशनको अन्त्यमा ‘जनकपुरधाम घोषणापत्र’ जारी गरिनेछ । त्यसमा प्रदेशस्तरीय नीति तथा कार्यदिशा तय गरिने जनाइएको छ ।

जसपाको विधानअनुसार ५० जना पार्टी सदस्यबाट एक जना प्रदेश प्रतिनिधि छनोट हुने व्यवस्था रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष यादवले भने, ‘हाम्रो पहिलो एकता अधिवेशनले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउनेछ । म साथीहरूको भावनाअनुसार पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन तयार छु ।’

मधेश प्रदेशमा जसपा नेपालले यस अधिवेशनलाई एकता र पुनर्संरचनाको ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ ।