सिरहा, २३ असोज । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिहीबार बिहान यात्रुबाहक बसबाट खस्दा सहचालकको ज्यान गएको छ ।

विराटनगरबाट जनकपुरधामतर्फ गइरहेको यात्रुबाहक बसबाट खस्दा गम्भीर घाइते भएका सहचालकको उपचारका क्रममा मृत्यु भएको हो ।

ना.७ ख २६५ नम्बरको यात्रुबाहक बसका सहचालक लहान नगरपालिका–१ बस्ने २१ वर्षीय पवन कुमार यादवको बिहीबार बिहान करिब ११ः०० बजेको समयमा बसबाट अचानक खसेर बसकै पछाडिको चक्काले किचिँदा गम्भीर घाइते भएका थिए ।

घटनापछि स्थानीयवासीको सूचनामा इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीप कुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । गम्भीर घाइते यादवलाई तत्कालै नजिकैको प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारका क्रममा बिहान ११ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बसका चालक बन्दीपुर नगरपालिका–३ खेरा बस्ने ४० वर्षीय लक्ष्मी महतोलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । उनी हाल अस्थायी प्रहरी पोस्ट कसहा सिरहाको नियन्त्रणमा रहेका छन् ।

घटनास्थल इलाका प्रहरी कार्यालय धनगढीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्छ । घटनाको प्रकृति गम्भीर देखिएकाले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षक शिव कटेलको कमाण्डमा अपराध अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बसको ढोका राम्रोसँग बन्द नभएको वा सहचालकको सन्तुलन गुम्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।