धनुषामा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु


जनकपुरधाम, १० असोज । धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन् ।
कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटना भएको थियो । दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भिर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
उनीहरू कमला नगरपालिका–३ लगमा बजारमा आयोजना भएको झिझिया नाच हेर्नका लागि जाँदै थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक रूपमा मोटरसाइकलको गति बढी हुनु र सडकको अवस्था समेत दुर्घटनाको कारण हुन सक्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
