जनक शिक्षा सामग्री केन्द्र जनकपुरद्वारा २२ करोड बढी मूल्यका पाठ्यपुस्तक बिक्री


जनकपुरधाम, २० साउन । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय, जनकपुरधामले चालु शैक्षिक सत्रको पहिलो तीन महिनामा (वैशाखदेखि असारसम्म) २२ करोड ८८ लाख ६६ हजार रुपैयाँ बराबरका करिब १७ लाख ७० हजार थान पाठ्यपुस्तक बिक्री–वितरण गरेको छ ।
कार्यालय प्रमुख रुद्रमणि खनालका अनुसार यस वर्ष शैक्षिकसत्रको आरम्भमै पुस्तक उपलब्ध गराइनु सकारात्मक पक्ष हो । यसले गर्दा बिक्री र वितरण दुबै गतिशील बनेका छन् ।
खनालले चालु शैक्षिक सत्र २०८२ मा २५ करोड रुपैयाँ बराबरका २३ लाख ७० हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘यो वर्षको शुरुवातमै वितरणमा गति आएको हो,’ खनालले भने, ‘पाठ्यपुस्तक उत्पादन र वितरणमा अघिल्ला वर्षमा देखिएको ढिलाइ हटेको छ ।’
जनक शिक्षा सामग्री केन्द्रले ८६ वटा तोकिएका वितरकमार्फत विद्यालयहरूमा पाठ्यपुस्तक पुर्याउने व्यवस्था मिलाएको छ । ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा वितरण भइरहेको छ ।
केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ । कक्षा ११ र १२ मा भने अनिवार्य विषयहरू अङ्ग्रेजी, नेपाली र सामाजिक विषयका पुस्तक विद्यार्थीहरूले आफैं खरिद गर्नुपर्ने व्यवस्था छ ।
विद्यालयहरूमा पुस्तक खरिद तथा वितरणको भुक्तानी सम्बन्धित स्थानीय तहमार्फत गरिने व्यवस्था मिलाइएको छ । गएको वर्षको तुलनामा यस वर्षको शुरुवातमै बिक्रीमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । २०७९/८० मा कुल २३ करोड ३० लाख रुपैयाँ बराबरका पुस्तक बिक्री गरिएको थियो । यस वर्ष २५ करोडको लक्ष्यसहित बजारमा पुस्तक आपूर्ति सहज भएको खनालको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
